काठमाडौं – विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा प्रयोग गरिनेछ ।
चेक हस्तान्तरण पछि उद्योगमन्त्री गौरी यादवले विपद्को कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीप्रति धन्यवाद व्यक्त गरिन् । उनले प्राप्त सहयोग विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग हुने बताइन् ।
विपद्का बेला निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री यादवको भनाइ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij