कपिलवस्तु- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वाणगङ्गा नगरपालिकाले रु ४५ लाख आर्थिक सहयोग गर्ने भएको छ । वाणगङ्गा नगर कार्यपालिकाको आज बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट रु ४५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नगरप्रमुख चक्रपाणि अर्यालले राष्ट्रिय विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको सामाजिक दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्मा परेका नागरिकलाई राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ । वाणगङ्गा नगरपालिकाले आफ्नो क्षमताअनुसार सहयोग गर्ने निर्णय गरेको हो ।” उहाँले विपद्का बेला स्थानीय तह, नागरिक, सङ्घसंस्था तथा सरोकार भएका सबै मिलेर प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानीय तह, सङ्घसंस्था तथा व्यक्तिहरूले राहतका लागि सहयोग घोषणा गरिरहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij