काठमाडौं – भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।
संस्थाले बाढी तथा प्राकृतिक विपद्का कारण अमूल्य जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण सम्पर्कविहीन तथा प्रभावित भएका सर्वसाधारणका साथै बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा कठिनाइप्रति पनि संस्थाले सहानुभूति प्रकट गरेको छ।
विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट राहत तथा सहयोगका लागि आह्वान भइरहेका बेला इन्फिनिटी लघुवित्तले संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.७ लाख १७ हजार ३४८ सहयोग प्रदान गरेको जनाएको छ।
संस्थाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij