काठमाडौँ – डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले भोटेकोशी खोलालगायत देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गरेको छ।
साथै, विपद्का कारण विभिन्न भौतिक संरचना, पूर्वाधार तथा सम्पत्तिमा पुगेको क्षतिप्रति समेत दुःख व्यक्त गरेको छ। कतिपय व्यक्ति अझै सम्पर्कविहीन तथा बेपत्ता रहेको जानकारी प्राप्त भइरहेकाले उनीहरूको सकुशल उद्धार तथा सुरक्षित पुनर्मिलनका लागि एसोसिएसनले कामना गरेको छ।
उद्धार तथा राहत कार्यमा खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति एसोसिएसनले आभार व्यक्त गरेको छ। साथै उद्धारमा संलग्न सबैको सुरक्षा र स्वास्थ्यका लागि समेत कामना गरेको छ।
एसोसिएसनले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै आफ्नो सुरक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता भएको भन्दै एसोसिएसनले उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।
विपद्का कारण सदस्य विकास बैंकका केही शाखा बाढी, विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधलगायतका कारण प्रभावित भएको एसोसिएसनले जनाएको छ।
यस्तो विषम परिस्थितिमा सदस्य विकास बैंकहरूको तर्फबाट सम्भव भएसम्म राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न प्रतिबद्ध रहेको एसोसिएसनले जनाएको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको शीघ्र उद्धार, राहत तथा पुनःस्थापना होस् र मुलुक यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भन्ने कामनासमेत एसोसिएसनले गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij