२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकाेशी बाढीः कोहलपुर नगरका जनप्रतिनिधि र कर्मचारीद्वारा पारिश्रमिकबाट सहयोग

भोटेकाेशी बाढीः कोहलपुर नगरका जनप्रतिनिधि र कर्मचारीद्वारा पारिश्रमिकबाट सहयोग

345
Shares

राँझा (बाँके)- बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारमा सहयोग गर्न जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट रकम सङ्कलन गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आजको बैठकले जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बाढीमा परी ज्यान गुमाएका नगरवासीका परिवारलाई काजकिरिया खर्चवापत तत्काल जनही रु ५० हजार उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नगर कार्यपालिकाको बैठकले बाढीपछि सम्पर्कविहीन भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने निर्णय गरेको छ ।

वडा नं १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नं २ का वडाध्यक्ष हरिसिंह कठायतले वडा नं ५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नं ६ का वडाध्यक्ष श्रीकृष्ण थारुसहित नगर प्रहरी तथा सम्पर्कविहीन नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।

विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ । हालसम्म कोहलपुर नगरपालिका-११ का कविराम थारुको मृत्यु भएको छ । थारुको शव चितवनमा फेला परेको थियो । उहाँको आजै कोहलपुर शवदाहगृहमा अन्त्यष्टि गरिएको छ । कोहलपुरका अझै ११ जना सम्पर्कविहीन भएका विवरण आफन्तहरूले नगरपालिकालाई जानकारी गराएका नगरप्रमुख आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij