२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

405
Shares

काठमाडौँ- त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचनाका आधारमा कायम गरिएको हो।

बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बढी प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नं १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र मुख्य प्रभावित क्षेत्रका रूपमा रहेका छन्।

बाढीले जिल्लाका करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढीबाट आठ सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ भने कृषि विकास बैंकको भवनसमेत प्रभावित भएको छ। त्यस्तै, तीन जलविद्युत् गृह र चार विद्यालयमा आंशिक क्षति पुगेको छ। क्षति पुगेका विद्यालयमध्ये एउटा सरकारी र तीन निजी रहेका छन्।

सडक तथा पुल संरचनामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। हालसम्म १५ पक्की पुल र नौ झोलुङ्गे पुलमा क्षति पुगेको विवरण प्राप्त भएको प्रशासनले जनाएको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन र आवतजावत सहज बनाउन चुनौती थपिएको छ।

बाढीले केन्द्रीय कारागार नुवाकोटको संरचनामा समेत क्षति पुर्‍याएको छ। कारागारका खम्बा तथा कम्पाउण्ड पर्खाल बगाउनुका साथै केही भाग पुरिएको र कार्यालय भवनको भुइँतल्लासमेत बाढीले पुरेको प्रशासनले जनाएको छ। कारागारमा रहेका कैदीबन्दी भने सुरक्षित रहेको प्रशासनले स्पष्ट पारेको छ।

बाढीपछि उद्धार कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म हेलिकप्टरमार्फत एक हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित तथा विस्थापित नागरिकलाई जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका आश्रयस्थलमा राखिएको छ। हालसम्म ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। कतिपय प्रभावित नागरिक आफन्तको घरमा आश्रय लिइरहेकाले आवश्यकताअनुसार उनीहरूलाई समेत आश्रयस्थलमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ। प्रशासनले संकटको यस घडीमा धैर्य कायम राख्दै सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरेको छ।

उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नेपाल रेडक्रस, सञ्चारकर्मी तथा आम नागरिकलाई समन्वय र सहयोगका लागि प्रशासनले अपिल गरेको छ।

उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै प्रभावित नागरिकको खोजी, उद्धार, उपचार तथा आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij