२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग

बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग

295
Shares

कास्की- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कास्कीका पालिकाले सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले रु ४५ लाख र मादी गाउँपालिकाले रु १० लाख सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेका हुन् ।

पोखराले उद्धार तथा स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेको छ । महानगरप्रमुख धनराज आचार्यका अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो ।

“बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले टोली परिचालन गरिएको छ । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्नेछ”, उहाँले भन्नुभयो ।

मादी गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।

प्राकृतिक विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याइरहेका बेला स्थानीय सरकारहरूको सहयोग र ऐक्यबद्धताले प्रभावित नागरिकलाई राहत मिल्ने विश्वास सहित जनप्रतिनिधि र कर्मचारीबाट सो सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij