२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुडी समाज काठमाडौँद्वारा बाढीपिडितका लागि सहयोग

सुडी समाज काठमाडौँद्वारा बाढीपिडितका लागि सहयोग

270
Shares

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सुडी समाज काठमाडौँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

समाजको अध्यक्ष शीतलप्रसाद महतोको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा समाजले सरकारको आह्वानमा यो सहयोग राशीको घोषणा गरेको हो ।

बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि समाजका चिकित्सक उपसमितिमार्फत आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको समाजका अध्यक्ष महतोले भन्नुभयो ।

बैठकले यस विनाशकारी विपत्तिमा आफ्ना प्रियजन गुमाउनुभएका सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना र ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अझै पनि आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहनुभएका परिवारजनको पीडा, चिन्ता र व्यथाप्रति बैठकले गहिरो सहानुभूति व्यक्त गरेको छ । “यस्तो कठिन र संवेदनशील घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता प्रभावित क्षेत्रमा उद्धार, राहत तथा मानवीय सहायता पुर्‍याउनु हो । विपत्तिमा परेका परिवार तथा समुदायलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो”, अध्यक्ष महतोले भन्नुभयो, “यस्तो सङ्कटको समयमा जातिय सामाजिक संस्थाले पनि सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय तथा सामाजिक सङ्घ–संस्थासँग हातेमालो गर्दै राहत, उद्धार तथा पुनस्र्थापनाका प्रयासमा सक्दो योगदान गर्नु हाम्रो साझा सामाजिक जिम्मेवारी हो ।”

यसै मानवीय भावनाका साथ बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्‍याउन सुडी समाज काठमाडौँले आफ्ना सबै सदस्यहरूलाई अपिलसमेत गरेको छ । यस दुःखद् विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सुडी समाज काठमाडौँ गहिरो साथ, ऐक्यबद्धता र सहयोग व्यक्त गर्दछ, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij