काठमाडौं – कामना सेवा विकास बैंकले बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख गरी कुल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बताएको छ ।
उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । यो सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानविय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा समेत प्रकट गरेको छ । बैंकले विपदको समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्य सक्रिय रूपमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij