काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई संयुक्त रूपमा २ करोड २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
भदौ १० गते बिहान भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
हालसम्म सम्पर्कविहीन रहेका नागरिकको शीघ्र र सकुशल उद्धारको कामना गर्दै बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग ऐक्यबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij