२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रसुवा बाढीप्रति नाइमाको दुःख व्यक्त, उद्धार–राहतमा सहकार्य गर्ने प्रतिबद्धता

रसुवा बाढीप्रति नाइमाको दुःख व्यक्त, उद्धार–राहतमा सहकार्य गर्ने प्रतिबद्धता

445
Shares

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै सडक, पुल, विद्युत् तथा सञ्चार पूर्वाधारसहित निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले बाढीबाट भएको व्यापक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण सडक तथा पुल, विद्युत् र सञ्चार संरचना, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनामा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ बढ्न सक्ने NAIMA ले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा विभिन्न उद्धारकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन्। NAIMA ले उद्धार तथा राहतमा संलग्न सबैप्रति उच्च सम्मान व्यक्त गरेको छ।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम रहन सक्ने भन्दै NAIMA ले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

NAIMA ले प्रभावित समुदायसँग आफूहरू साथमा रहेको जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ।

एसोसिएसनले बाढी प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत तथा पुनर्स्थापना कार्य अघि बढोस् र सबैको सुरक्षा सुनिश्चित होस् भन्ने कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij