काठमाडौं- नेपाल अटोमोबाइल इन्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को दोस्रो संस्करणमा अवलोकनकर्ता र गाडीको बुकिङले व्यवसायी उत्साहित भएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ५५ ब्रान्डका ४४ मोडल लञ्च भएका छन्। ६ दिनसम्म चलेको एक्स्पोमा करिब ३५ सय गाडी र करिब २ हजार दुई पाङ्ग्रे सवारीसाधन बुकिङ भएको व्यवसायीले बताएका छन्।
नाइमाले नयाँ ब्रान्डसँगै नयाँ मोडल सार्वजनिक भएको जनाएको छ। नाइमा अध्यक्ष ऋतुसिह वैद्यले ६ लिनमा १ लाख ८० हजार अवलोकनकर्ता आएको जानकारी दिइन्। उनले देशकै ठूलो अटो शो सफल बनाउन एक जनाको मेहेनतले नभई सयौँ जनाको भूमिका रहेको उल्लेख गरिन्। उनले नाइमा मोबिलिटी सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन्।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’
त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए । ‘नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो, त्यो शब्द हो सुपरहिट,’ उनले भने ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसहित सिकाइ सत्रहरु, बृहत्तर सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको परिभाषालाई अवधारणागत रुपमा पुस्ट्याइँ गरिएको बताए । ‘अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पो सफलताको मापक हो,’ उनले भने ।
व्यवसायीका अनुसार नाइमा एक्स्पोमा सबैभन्दा बढी बुकिङ गर्नेमा चार पाङ्ग्रे सवारीसाधनमा बीवाईडी रहेको छ। यो एक्स्पोमा बीवाईडीको गाडी मात्रै एक हजार युनिट बुकिङ भएको साइमेक्स इंकले जनाएको छ। यस्तै, एक्स्पोमा चेरी गाडी ७००, महिन्द्रा १००, हुन्डाई १५०, लिपमोटर २०० बुकिङ भएका छन्। यसैगरी, म्याक्सस ३४, निसान २१, टेकटोन १४, आईकार ५०, ओजे ५०, टोयोटा ४६, र्याभ ४, किया ७०, महिन्द्रा १०० होन्ग्छी ५५ वटा गाडीहरू बुकिङ भएको जनाएको छ। एक्स्पोमा टाटाको ७०० युनिट, वुलिङ ४५०, एमजीको ३२९, प्रोटोन १००, ग्रेटवाल मोटर्स २०५ युनिट बुकिङ भएका छन्।
एक्स्पोमा दुई पाङ्ग्रेमा एथर, ट्राइम्फ, रोयल इन्फिल्ड, याडिया, सी एक्सको सबैभन्दा धेरै बुकिङ भएका छन्। एक्स्पोमा सबैभन्दा धेरै एथर ४०० युनिट बुकिङ भएको छ। सीएक्स मोटोका २०० युनिट बढी मोटरसाइकल बुकिङ भएका छन्। नेपालमा लागि सीएफमोटोको आधिकारिक बिक्रेता बाइकर्स नेपालले नाइमामा २०२६ को वल्र्ड सुपर बाइक रेसिङ च्याम्पियनसिप जित्ने पहिलो चिनियाँ मोटरसाइकल जेडएक्स मोटो ८०० आरआर लन्च गरेको थियो।
यस्तै, याडिका १४५ युनिट बुकिङ भएको छ। बुकिङ भएकामध्ये ४५ युनिट डेलिभरी गरिसकिएको नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले जनाएको छ। ट्रायम्फका मोटरसाइकल पनि १०० युनिट बढी बुकिङ भएका छन्। हंसराज हुलासचन्द एण्ड कम्पनीले नाइमा एक्स्पोमा ट्रायम्फको सबैभन्दा सस्तो नयाँ मोटरसाइकल ‘ट्रायम्फ स्पीड टी ४’ लन्च गरेको थियो।
जेडएक्स मोटो ८२० आरआर ५ युनिट, जेडएक्स ५०० मोडल २० युनिट र अन्यसबै मोडल गरि ५०बढी बुकिङ भएको बाइकर्स नेपालले जनाएको छ। त्यस्तै, सीएफमोटो १०८, सुजुकीको ५०, भोल्टसको २५, मोर्बिडेली ४५, रोयल इनफिल्ड १००, केटीएमको ६० युनिट मोटरसाइकल बुकिङ भएको बिक्रेता कम्पनीहरूले जनाएका छन्।
नाइमा एक्स्पो संयोजक गौरव सारडाले अटो शोमा ३० देखि ३५ लाखका गाडीमा बढी आकर्षण रहेको बताए। उनले इन्ट्री लेभलका गाडीको आकर्षणले अटो शोमा गाडी खरिद गर्ने नयाँ ग्राहक थपिएको बताए। उनले अटो एक्स्पोमा उत्साहजनक उपस्थिति रहेको उल्लेख गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij