काठमाडौं – जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ प्रिमियम एसयूभी ‘एमजी मजेस्टर’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, यो नेपालमा सार्वजनिक गरिएको एमजी ब्रान्डको हालसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो ।
एमजी मजेस्टर भारतको पहिलो ‘डी प्लस’ एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । परम्परागत फुल–साइज एसयूभीभन्दा माथिल्लो श्रेणीमा राखिएको यस गाडीलाई भारतबाहिर प्राप्त गर्ने प्रारम्भिक बजारमध्ये नेपाल पनि रहेको कम्पनीले जनाएको छ । यसले नेपाली बजार एमजीका लागि प्राथमिकतामा रहेको र नेपाली ग्राहकलाई एमजीको विश्वव्यापी उत्पादन श्रृंखला उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता देखाउने दाबी गरिएको छ ।
५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको एमजी मजेस्टरले सडकमा प्रभावशाली उपस्थिति दिने कम्पनीको भनाइ छ । ल्याडर–फ्रेम संरचना, मांसल बडी लाइन र बोल्ड ग्रिलले गाडीलाई बलियो तथा आकर्षक स्वरूप प्रदान गरेको छ । २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २६५/५५ आर१९ अल–टेरेन टायरका कारण काठमाडौंका सहरी सडकदेखि पहाडी तथा ग्रामीण सडकसम्मका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
एमजी मजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ । यसलाई ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । गाडी ४×२ र ४×४ दुवै विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अफ–रोड क्षमताका लागि मजेस्टरमा बालुवा, हिउँ, हिलो र ढुंगालगायत विभिन्न १० वटा ड्राइभिङ मोड उपलब्ध छन् । अगाडि, बीच र पछाडिसहित ट्रिपल डिफरेन्सियल लक तथा ८१० मिलिमिटरसम्मको वाटर वेडिङ क्षमता पनि रहेको कम्पनीले जनाएको छ ।
गाडीको भित्री भागमा ६ सिटको विकल्पमा दोस्रो पंक्तिमा क्याप्टेन सिट तथा सात सिटको विकल्पसमेत उपलब्ध छ । अगाडिका सिटमा बहु–मोड मसाज र भेन्टिलेसन सुविधा रहेको छ । ग्यालेक्सी भ्यु पानोरामिक ग्लास रूफ, १२.३ इन्चको एचडी पोट्र्रेट इन्फोटेनमेन्ट स्क्रिन तथा ७५ भन्दा बढी कनेक्टेड कार सुविधाले गाडीलाई थप प्रिमियम बनाएको कम्पनीको भनाइ छ ।
सुरक्षातर्फ एमजी मजेस्टरमा ६ वटा एयरब्याग, लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरा तथा इलेक्ट्रोनिक पार्किङ ब्रेक उपलब्ध छन् । कम्पनीले प्रत्येक मजेस्टरमा पाँच वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी तथा नेपालभर २४ घण्टा सेवा उपलब्ध गराउने जनाएको छ ।
गो अटोमोबाइल्सले नेपालमा एमजीका ग्राहकका लागि सेवा तथा स्पेयर पार्ट्सको पहुँच विस्तार गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, काठमाडौंको धोबीघाटमा समर्पित एमजी सर्भिस वर्कसप सञ्चालनमा रहेको छ भने देशभर सेवा केन्द्रको सञ्जाल विस्तार भइरहेको छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ को विशेष अफरअन्तर्गत एमजी मजेस्टर बुक गर्ने ग्राहकले आठ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको व्यापक बिमा, प्रिमियम एसेसरिज, १० हजार रुपैयाँभन्दा माथिको बुकिङमा उपहार तथा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा लक्की ड्रमा सहभागी हुने अवसर पाउने कम्पनीले जनाएको छ । यी सबैलाई जोड्दा कुल मूल्य लाभ १५ लाख ५० हजार रुपैयाँसम्म पुग्ने कम्पनीको दाबी छ ।
गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेपालमा एमजीको सेवा तथा सहयोग प्रणालीलाई थप सुदृढ बनाउँदै लगिएको बताउँदै ग्राहकले देशका विभिन्न स्थानमा विश्वस्तरीय सहयोग प्राप्त गर्न सक्ने वातावरण निर्माण गरिरहेको बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागी आगन्तुकले एमजी मजेस्टरलाई प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको विशेषता र प्रविधिबारे जानकारी लिन सक्नेछन् । एक्स्पो अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij