काठमाडौं । व्यवसायी शेखर गोल्छालाई विशेष अदालतले १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ। मंगलबार भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग उक्त रकम धरौटी माग गरेको हो।
न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले गोल्छासँग धरौटी माग गरेको हो। व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा गोल्छालाई प्रतिवादी बनाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको थियो। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। उनी हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्षसमेत रहिसकेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई गत वैशाख १० मा काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो। पक्राउसम्बन्धी विज्ञप्तिमा सीआईबीले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा गोल्छालाई पक्राउ गरिएको जनाएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij