काठमाडौं – आजदेखि नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६” सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको यो एक्स्पो साउन २६ देखी ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा मुख्य गरी विभिन्न ब्रान्डका नयाँ मोडलका ईकार, ईस्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
नेपाल भित्रिएका नयाँ सवारीसाधन र तिनका आधुनिक प्रविधिहरूलाई यहि एक्सपोमार्फत पहिलो पटक सार्वजनिक गर्ने तयारी गरिएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा सवारीसाधन खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले विशेष अफर र सहुलियत दरमा कर्जा योजनाहरू उपलब्ध गराउनेछन्।
साथै अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसनका प्रविधि तथा एक्सेसरिजका स्टलहरू समेत प्रदर्शनीमा समावेश छन्। नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा यस एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने र उपभोक्तालाई एकै थलोमा धेरै विकल्प उपलब्ध गराउने आयोजकले विश्वास लिएको छ।
यसवर्ष ५५ ब्राण्डले सहभागीता जनाउँदैछन् । साथै, ४० भन्दा बढी नयाँ लन्च (ब्राण्ड तथा मोडल) हुने नाइमाले जनाएको छ । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रुपमा रहने बताए । ‘मेला अवधिभर ६ दिन नै आयोजना हुने विभिन्न Learning Sessions, Policy Dialogues and Industry Interactions मा सहभागिताका लागि हामी सबैलाई हार्दिक अनुरोध गर्दछौँ,’ उनले भने ।
राजधानीको मुख्य स्थान भृकुटीमण्डपमा हुने यस प्रदर्शनीले नेपालको अटोमोबाइल बजारलाई नयाँ उचाइमा पुर्याउने र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
उद्घाटन समारोह सम्पन्न भएपश्चात् एक्स्पो उद्घाटनका दिन २०८३ साउन २६ गते (११ अगस्ट २०२६) दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म र बाँकी दिनहरूमा बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म एक्स्पो खुला रहनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij