काठमाडौं – माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ। दुई बैंकले गरि आयोजनामा कुल १० अर्ब १ करोड लगानी गर्ने भएका हुन्।
मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ। प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ। आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रबर्दक कम्पनीले लगानी गर्ने छ।
आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम थाल्ने कम्पनीको तयारी छ। निर्माण थालेको ३ वर्षभित्रमा विद्युत उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ। माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले हाल नियमित विद्युत उत्पादन गरिरहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij