२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो २०२६ भदौ ९ देखि, २०० स्टलमा ५० ब्रान्डका सवारीसाधन प्रदर्शन हुने

नाडा अटो शो २०२६ भदौ ९ देखि, २०० स्टलमा ५० ब्रान्डका सवारीसाधन प्रदर्शन हुने

995
Shares

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो तथा बहुप्रतीक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना गर्न लागेको उक्त अटो शो नेपाली अटोमोबाइल क्षेत्रका लागि महत्वपूर्ण व्यावसायिक तथा प्रवर्द्धनात्मक मञ्च बन्ने अपेक्षा गरेको छ।

यस वर्षको नाडा अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्रान्डका पेसेन्जर कार, १६ वटा ब्रान्डका लाइट कमर्शियल भेहिकल तथा १२ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुने आयोजकले जनाएको छ।

त्यस्तै, प्रदर्शनीमा ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्। यसबाट नेपाली तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड, पार्टपुर्जा, कम्पोनेन्ट तथा सम्बन्धित सेवाहरू एउटै थलोमा अवलोकन गर्न सकिनेछ।

नाडाका अनुसार देशभरका अटोमोबाइल व्यवसायीहरूमा मेलालाई लिएर उत्साहजनक वातावरण बनेको छ। हालसम्म पनि स्टलका लागि व्यवसायीहरूबाट अत्यधिक माग आइरहेको छ। तर, प्रदर्शनीस्थलमा पर्याप्त ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको आयोजकले जनाएको छ।

स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने भएकाले यस वर्षको नाडा अटो शो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। लामो समयदेखि सुस्त रहेको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन तथा व्यवसायी, उपभोक्ता र सरोकारवालाबीचको व्यावसायिक सम्बन्ध विस्तार गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

नाडा अटो शोमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, अटोमोबाइल प्रविधि, पार्टपुर्जा तथा विभिन्न अटोसम्बन्धी उत्पादन र सेवाबारे जानकारी लिन उपभोक्ताले अवसर पाउनेछन्। साथै, व्यवसायीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाको प्रवर्द्धन र बजार विस्तारका लागि मेलालाई उपयोग गर्न सक्नेछन्।

अटो शोका लागि नाडाले डिजिटल टिकट खरिद गर्ने अवलोकनकर्तालाई सीमित अवधिका लागि ५० प्रतिशतसम्म ‘अर्ली बर्ड’ छुट दिने घोषणा गरेको छ। नाडाका अनुसार खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्नेले यो सुविधा पाउनेछन्।

खल्ती एपबाट वा आधिकारिक खल्ती क्यूआर कोड स्क्यान गरी अग्रिम टिकट खरिद गर्दा साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट उपलब्ध हुने आयोजकले जनाएको छ। छुट सीमित अवधिका लागि मात्र लागू हुने भएकाले इच्छुक अवलोकनकर्तालाई समयमै टिकट खरिद गर्न नाडाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij