२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाइमा मोबिलिटी एक्स्पो–२०२६ : ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पो–२०२६ : ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुँदै

695
Shares

 

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को तयारी पूरा भएको जनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा २६–३१ गते आयोजना हुने एक्स्पोको दोस्रो संस्करणलाई अटोमोबाइल तथा मोबिलिटी क्षेत्रकै महत्वपूर्ण प्रदर्शनीका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको नाइमाले जनाएको हो।

पहिलो संस्करणमा ४७ वटा स्टल रहेकोमा यस वर्ष ५२ वटा स्टल निर्माण गरिएको छ। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुने तथा ४० भन्दा बढी नयाँ सवारी तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारी साधनसँगै विद्युतीय तथा हाइब्रिड मोबिलिटी, नयाँ प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शन गरिनेछन्।

दर्शकले रु. १०० देखि रु. २०० सम्मको टिकट लिएर एक्स्पो अवलोकन गर्न सक्नेछन्। टिकट बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिमका लागि छुट्याइने नाइमा अध्यक्ष रितु सिंह वैद्यले जानकारी दिएकी छन्।

उनका अनुसार एक्स्पो अवधिभर दैनिक दिउँसो २ बजेदेखि ५ बजेसम्म वैदेशिक लगानी, रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ, बीमा, युवा उद्यमशीलता तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ। यस्तै, हरेक दिन बिहान ११ बजे ब्लु पेभिलियन हलमा ‘दुर्घटनापछिको व्यवस्थापन’ विषयमा विशेष तालिम सञ्चालन गरिनेछ।

चारपांग्रे सवारीतर्फ दर्जनौँ ब्रान्ड

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा चारपांग्रे सवारीतर्फ हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, जीओ अटोमोबाइल्स, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, काइयी, होर्नी बोमा, बीएआईसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जीकर, लिपमोटर र वुलिङलगायत ब्रान्ड सहभागी हुँदैछन्।

दुईपांग्रे सवारीतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, एनआईयू, प्युजो, बगाउस, अल्ट्राभायोलेट, केरेन, ग्यारो, सीएफमोटो, ट्रायम्फ र जेडएक्समोटो/सीएक्सलगायत ब्रान्ड सहभागी हुनेछन्।

व्यावसायिक सवारीतर्फ चेरी वान्डा, केरी, केयटन र स्काइवर्थलगायत ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

वुलिङका पाँच नयाँ विद्युतीय सवारी सार्वजनिक हुँदै

एक्स्पोमा सबैभन्दा धेरै नयाँ सवारी सार्वजनिक गर्ने तयारी प्यारामाउन्ट मोटर्सले गरेको छ। कम्पनीले वुलिङ ब्रान्डका पाँच वटा विद्युतीय सवारी सार्वजनिक गर्नेछ। तीमध्ये एक्सिएन, मिनी, डेरिएन, बिंगो र लिंकिस ईभी रहेका छन्।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया ब्रान्डका तीन वटा नयाँ सवारी सार्वजनिक गर्ने तयारी गरेको छ। यस्तै, ईभी राइडले होर्नी बोमा ब्रान्डको एउटा, हिमालय म्याक्सले म्याक्ससका तीन वटा तथा लक्ष्मी कमर्सियलले केरी ब्रान्डका दुई वटा नयाँ सवारी सार्वजनिक गर्नेछन्।

लक्ष्मी ई–मोबिलिटीले काइयी ब्रान्डको एउटा तथा लक्ष्मी मोटरहबले आर्कफक्स र बीएआईसी ब्रान्डका एक–एक वटा सवारी सार्वजनिक गर्ने तयारी गरेको छ।

एसक्यू इन्टरप्राइजेजले हेनरी भोल्ट्सका तीन वटा तथा सांग्रिला मोटर्सले लिपमोटरको एउटा नयाँ सवारी सार्वजनिक गर्नेछ। युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटाका दुई तथा जीडब्लूएम (ग्रेट वाल मोटर्स) का दुई वटा नयाँ सवारी सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

एसपीजी अटोमोबाइल्सले ओमोडा र आइकारका एक–एक वटा नयाँ सवारी सार्वजनिक गर्नेछ। पायोनियर मोटोकर्पले निसान तथा जीओ अटोमोबाइल्सले एमजी ब्रान्डका एक–एक वटा नयाँ सवारी सार्वजनिक गर्ने तयारी गरेका छन्।

दुईपांग्रेमा पनि नयाँ मोडलको आकर्षण

दुईपांग्रे सवारीतर्फ बाइकर्स नेपालले जेडएक्समोटो/सीएक्स ब्रान्डका तीन वटा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ।

इको इन्फिनिटीले एनआईयू ब्रान्डका तीन तथा इभोक नेपालले केरेन इलेक्ट्रिक स्कुटरका दुई वटा नयाँ मोडल सार्वजनिक गर्नेछन्। हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका दुई, जगदम्बा मोटर्सले टीभीएसका दुई तथा कुजु नेपालले याडियाका तीन वटा नयाँ सवारी सार्वजनिक गर्ने तयारी गरेका छन्।

परिमिता इन्भेस्टमेन्टले ग्यारो ब्रान्डको एउटा, त्रायना मोबिलिटीले अल्ट्राभायोलेटको एउटा तथा युनाइटेड ट्रेडर्स सिन्डिकेटले मोर्बिडेली ब्रान्डको एउटा नयाँ सवारी एक्स्पोमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

डोङफेङका विद्युतीय बस पनि सार्वजनिक हुने

एक्स्पोमा आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता कम्पनी डोङफेङका विद्युतीय बस पनि सार्वजनिक गर्ने भएको छ। हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको कम्पनीले डोङफेङका दुई वटा विद्युतीय बस मोडल एक्स्पोमा सार्वजनिक गर्ने जनाएको छ।

यस वर्षको एक्स्पोलाई गत वर्षको तुलनामा थप व्यवस्थित, व्यापक र भव्य बनाउने तयारी नाइमाले गरेको छ। नयाँ विद्युतीय सवारी, हाइब्रिड प्रविधि, दुईपांग्रे तथा चारपांग्रे सवारीका साथै व्यावसायिक सवारी र मोबिलिटीसम्बन्धी नवीन प्रविधिको प्रदर्शनले एक्स्पोलाई विशेष आकर्षण बनाउने आयोजकको अपेक्षा छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ ले नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र मोबिलिटी समाधानको विस्तारसँगै उपभोक्ता, व्यवसायी, नीति निर्माता तथा सरोकारवालाबीच संवादको महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गत वर्षका केही ब्रान्ड यसपटक सहभागी नहुने

गत वर्षको एक्स्पोमा सहभागी भएका माज्दा, मित्सुबिशी, रेनो, फक्सवागन, टेस्ला, सेरेस, स्काइवेल, एलईभी–१, जेवाई एयर, एलएस अटो, ब्लुवेल, जिनपेङ र आयोनलगायत केही ब्रान्ड यस वर्ष सहभागी नहुने भएका छन्।

दुईपांग्रेतर्फ गत वर्ष सहभागी भएका बेनेली, गोगोरो, रेभोल्ट, सेगवे–नाइनबोट, याज्दी र जीहो पनि यस वर्षको एक्स्पोमा सहभागी नहुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij