२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँचथर पावर कम्पनीको नाफा ८ करोड ५१ लाख

पाँचथर पावर कम्पनीको नाफा ८ करोड ५१ लाख

395
Shares

काठमाडौं – पाँचथर पावर कम्पनी लिमिटेडले अघिल्लो वर्ष प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक क्षति व्यहोरेको यस कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा आफूलाई पुनः नाफाको बाटोमा फर्काउन सफल भएको हो ।

कम्पनीले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा कम्पनीले ८ करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा खुम्चिएको थियो । कम्पनीले एक वर्षमै नोक्सानीलाई नाफामा बदल्न सफल भएको छ ।

विद्युत बिक्रीमा उल्लेख्य वृद्धि आएका कारण कम्पनी नाफा आर्जन गर्न सक्षम बनेको हो । अघिल्लो वर्षको असार मसान्तसम्म जम्मा ८ करोड ९० लाख ७२ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष चामत्कारिक रूपले बढेर ३७ करोड ७८ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

यता कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उत्साहजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष ८.८५ रुपैयाँ कायम भएको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ ९८.६५ रुपैयाँ रहेको छ । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा कोषमा रहेको घाटा पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो वर्ष ९ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष अहिले सुधारिएर १ करोड २९ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ ।
२०८० साल असारमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि लामो समय उत्पादन बन्द भएको थियो । आयोजनाको मर्मत सम्भार सकेर २०८१ चैत १६ गतेदेखि पुनः पूर्ण रूपमा उत्पादन सुरु भएपछि कम्पनीको आम्दानीको स्रोत फेरि बलियो बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij