२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

580
Shares

काठमाडौँ- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिइन ।

अमेरिकाको मिजोरी विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेर आएपछि उनी लगानी बोर्डमा आबद्ध भएकी थिइन्। बोर्डमा लगभग सुरूआत कालदेखि प्रोजेक्ट फाइनान्सिङको जिम्मेवारी सम्हालेकी यांकीले करिब ६ वर्ष त्यहाँ काम गरिन्।

त्यसपछि उनी सार्वजनिक नीतिमा स्नातकोत्तर गर्न बेलायतको अक्सफोर्ड विश्वविद्यालय गइन्। अक्सफोर्डमा पढेपछि उनी राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा आबद्ध भइन्। उनले युएनडिपीको वरिष्ठ सल्लाहकारका रूपमा फिजी, कम्बोडिया लगायत मुलुकमा काम गरेकी छन्। ओलाङचुङगोला पुर्ख्यौली घर भएकी यांकीले अध्ययन र कामको सिलसिलामा लामो समय अमेरिकामा बिताएकी थिइन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। ती तीन जनामध्येबाट मन्त्रिपरिषदले यांकीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सिफारिस समितिले यांकी उक्याबसहित मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको हो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij