काठमाडौं- मन्त्रिपरिषद् बैठकले ७ निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ७ निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्राध्यापक डा.खड्गबहादुर केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले पर्वतका खड्गबहादुरलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै सचिव पदमा प्राध्यापक डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्। श्रेष्ठ भोजपुरकी हुन्। त्यस्तै लगानी बोर्डको अध्यक्षमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणवद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ भने बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान निर्णय पनि गरिएको मन्त्री पोखरेलले बताए।
यस्तै तथ्यांक पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ। बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यू हुने र घाइतेहहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij