२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

755
Shares
लक्ष्मीनारायण मन्दिरमा राखिएकोे शिश महल बागमती, १८ साउनः मकवानपुरको हेटौंडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएकोे सीताराम शिश महल । शिश महल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ । तस्बिरः वासुदेव पौडेल/रासस

बागमती- मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ ।

मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्र आकर्षक दुईवटा सिसमहल दर्शनार्थीको रोजाइमा पर्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिनुुभयो ।

विभिन्न स्थानमा रहेका सिसमहलमा सर्वसाधारणले सशुल्क मात्रै हेर्न पाउने व्यवस्था भए पनि यहाँका महलमा निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा यहाँस्थित सिसमहल हेर्नका लागि पनि धार्मिक पर्यटक आउने गरेको बताउनुभयो ।

यहाँ रहेको राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको रु आठ लाख सहयोगमा निर्माण गरिएको हो भने अर्को सीताराम सिसमहल रु २० लाखको लागतमा निर्माण गरिएको हो । सीताराम सिसमहल भने भक्तजनको आर्थिक सहयोगमा निर्माण भएको उहाँले जानकारी दिनुुभयो । आध्यात्मिक जागरणसँगै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बनिरहेको यो संस्था २०३२ सालमा स्थापनाको हो ।

तत्कालीन समयमा अनन्त श्री विभूषित पराङ्कुशाचार्यले स्थापना गर्नुुभएको यो संस्था स्थापनाकालदेखि नै श्री लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिमार्फत सञ्चालन भइरहेको अध्यक्ष वाग्लेले जानकारी दिनुुभयो ।

मन्दिरभित्र दक्षिण भारतको तिरुपति बालाजीकै जस्तै संरचना निर्माणका साथै त्यस्तै विधि तथा नियम अनुुसार पूजाआजा गर्ने गरिएको छ ।

उहाँका अनुुसार संस्थाको विधिवत् दर्ता भने २०६१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको हो । करिब दुई कट्ठा क्षेत्रफलको भूभागमा रहेको मन्दिर परिसरमा विभिन्न संरचना निर्माण भएका छन् ।
मन्दिरमा तीर्थयात्राका लागि आउने तीर्थालुका लागि छ वटा कोठा सहितको आवासीय व्यवस्थापन गरिएको जानकारी दिँदै उहाँले एक दिनमा १०÷१२ जनासम्म तीर्थालुलाई बस्न सक्ने व्यवस्था मिलाइएको बताउनुुभयो ।

मन्दिरले मुगु, हुम्लालगायत जिल्लाका पाँच जना वटुुकलाई आवासीय व्यवस्थापनसहित वैदिक शिक्षासँगै विद्यालय तहका विभिन्न कक्षामा पढाउने व्यवस्था पनि गरिरहेको उहाँले जानकारी दिनुुभयो ।

संस्थाका माध्यमबाट नियमित योगाभ्याससँगै धार्मिक व्यक्तित्वहरूबाट प्रवचन गराउँदै आइएको उहाँले बताउनुुभयो ।

मन्दिर परिसरभित्रै २०५८ सालमा लक्ष्मी नारायण व्यास पीठ स्थापना गरिएको छ । उक्त व्यास पीठबाट स्थापनाकालदेखि नै दैनिक वेद, भागवत् गीता, श्रीमद्भागवतको पाठपारायण भइरहेको छ । परिसरमा नै हरेक दिन कस्तुरी योग साधना केन्द्रमार्फत नियामित योग साधना भइरहेको छ । योग साधनाका लागि हेटौँडा नगर क्षेत्रका करिब ४० जना व्यक्ति नियमित सहभागी भइरहेको उहाँले बताउनुुभयो ।

मन्दिरमा हरेक दिन बिहान ६ः०० देखि १०ः०० बजेसम्म र दिउँसो ४ः०० देखि ८ः०० बजेसम्म पूजाआजा हँुदै आएको पुुजारी भक्ति दाहालले जानकारी दिनुुभयो । उहाँका अनुुसार विभिन्न महत्वपूर्ण तिथिमिति र पर्व विशेषमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।

मन्दिर परिसर भित्रै मार्बलमा अठार अध्याय श्रीमद्भगवत् गीता लेखिएको छ । छ वर्षअघि रु तीन लाख ५० हजारको लागतमा गरिएको लेखन कार्यमा हरेक अध्यायका लागि एक÷एक जना व्यक्तिहरू गरी १८ जनाले आर्थिक सहयोग गर्नुुभएको छ । मन्दिरलाई अध्यात्मिक जागरणसँगै सामाजिक सेवाको विशिष्ट माध्यमका रुपमा विकास गर्ने गरी काम भइरहेको समितिका सदस्य गोमादेवी वाग्लेले बताउनुुभयो ।

मन्दिरमा हरेक वर्ष पुस महिनामा महालक्ष्मी उत्सव सञ्चालन गर्दै आइएको बताउँदै उहाँले हरेक रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी, झुलन महोत्सव आदिमा धेरै सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij