२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लघुवित्तको खुद नाफा बढ्यो

हिमालयन लघुवित्तको खुद नाफा बढ्यो

545
Shares

काठमाडौं – हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा, आम्दानी, लाभांश क्षमता र प्रतिशेयर आम्दानीमा आकर्षक सुधार देखिएको छ।

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा (७ करोड १४ लाख रुपैयाँ) को तुलनामा ४९.१८ प्रतिशत बढी हो। लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ३७ करोड ८ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्ष ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको १० करोड ५४ लाख रुपैयाँबाट बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ।

नियमनकारी समायोजन तथा अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा समायोजन पश्चात् गत असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ पुगेको छ। यस अनुसार लघुवित्तको चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा कायम भएको छ, जसले शेयरधनीहरूका लागि आकर्षक लाभांशको बलियो सम्भावना देखाउँछ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा लघुवित्तको व्यावसायिक दायरा थप विस्तार भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष २९ करोड १७ लाख २३ हजार रुपैयाँ पुगेको छ।

खुद नाफा ४९ प्रतिशतले बढेर १० करोड ६६ लाख नाघ्नु र प्रतिशेयर आम्दानी ३१ रुपयाँ २६ पैसा पुग्नुले लघुवित्तको व्यावसायिक सफलता दर्साउँछ। खराब कर्जामा आएको वृद्धि (९.०४ प्रतिशत) लाई प्रभावकारी रूपमा असुली गर्न सकेको खण्डमा २७ रुपैयाँ १३ पैसाको प्रतिशेयर लाभांश क्षमताले लगानीकर्ताहरूलाई उत्कृष्ट प्रतिफल सुनिश्चित गर्ने देखिन्छ।
सदस्यहरूबाट सङ्कलित निक्षेप र सापटी ४ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ५ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा ४ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। लघुवित्तको कुल सम्पत्ति ५ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ६ अर्ब १४ करोड ६९ लाख रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij