२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शान्ति र संयमताका लागि एमाले अध्यक्ष ओलीको अपिल

शान्ति र संयमताका लागि एमाले अध्यक्ष ओलीको अपिल

660
Shares

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका तथा सिरहालगायतका स्थानमा भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संयमता, सामाजिक सद्भाव र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको अपिलमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनयता उत्पन्न तनावपूर्ण परिस्थितिमा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको गोली लागि निधन भएको र अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न स्थानमा थप नागरिकले ज्यान गुमाएको घटनाले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अध्यक्ष ओलीले नागरिकबीचको एकता, सहिष्णुता र भ्रातृत्वलाई राष्ट्रको मुख्य शक्ति उल्लेख गर्दै कुनै पनि प्रकारको भ्रामक प्रचार वा उत्तेजनात्मक गतिविधिको पछि नलाग्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले एमालेका नेता–कार्यकर्ता, अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।

अध्यक्ष ओलीले हिंसात्मक गतिविधि तत्काल रोक्न, संयमता अपनाउन तथा सबै पक्षसँग अविलम्ब सार्थक संवाद सुरु गरी समस्याको शान्तिपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गर्दै मुलुक चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखी शान्ति, सुरक्षा, सामाजिक सद्भाव तथा राजनीतिक स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij