२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

485
Shares

सुदूरपश्चिम- कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु ६५ सम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् ।

सङ्घीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएकामा सङ्घले धन्यवाद दिँदै अब मूल्यवृद्धि र सम्भावित कालोबजारी नियन्त्रणमा ध्यानदिन जोड दिएको छ । “सरकारको निर्णयले केरा उत्पादन, किसानको हित र राष्ट्रिय कृषि सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास छ । अब बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि रोक्न सम्बन्धित सरकारी निकायलाई प्रभावकारी बजार अनुगमन, कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि नियन्त्रण गर किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न आग्रह छ”, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।

सङ्घले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्यसमेत सार्वजनिक गरेको छ । त्यसअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन रु ५५–६५, कात्तिकदेखि मङ्सिर मसान्तसम्म रु ४५–५० तथा पुसदेखि माघ मसान्तसम्म रु ३०–३५ निर्धारण गरिएको छ। फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था र माग–आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट तय गरिने जनाइएको छ ।

सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले सम्पूर्ण किसान, व्यापारी तथा सरोकार भएकाहरुलाई पनि निर्धारण गरिएको बगान बिक्री मूल्य कार्यान्वयनमा सहयोगका लागि आग्रह गर्नुभयो ।

कृषि गणना २०६८/६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार चार हेक्टरमा केराखेती हुँदै आएको छ भने वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क कैलालीमा करिब एक हजार ८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij