२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो

मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो

575
Shares

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले आफ्नो खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा सुधार गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१२ करोड ९५ लाख रुपैयाँ) तुलनामा ८.९८ प्रतिशत बढी हो।

ब्याज खर्च घटेका कारण बैंकको खुद ब्याज आम्दानीमा ठूलो सुधार आएको छ। अघिल्लो आर्थिक वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी, गत आर्थिक वर्ष ५०.३० प्रतिशत बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको सञ्चालन नाफा पनि १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ।

गत असार मसान्तसम्ममा बैंकको शेयरधनीहरूलाई वितरण गर्न मिल्ने वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी अनुसार शेयरधनीहरूलाई १२.७३ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता देखिएको छ।

बैंकले निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवैमा राम्रो प्रगति गरेको छ। ग्राहकबाट उठाइएको निक्षेप ६ अर्ब ५० करोड रुपैयाँबाट बढेर ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ। गत असार मसान्तसम्म बैंकको प्रति शेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा र पूँजी कोष अनुपात २५.७५ प्रतिशत रहेको छ। बैंकको कोषको लागत ५.१२ प्रतिशतबाट घटेर ४.२२ प्रतिशत र आधार दर ५.९८ प्रतिशतमा झरेको छ।

वित्तीय संस्थाको महत्त्वपूर्ण सूचक मानिने निष्क्रिय कर्जा नियन्त्रणमा मितेरी बैंकले उत्कृष्ट प्रदर्शन गरेको छ। अघिल्लो आर्थिक वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा झनै घटेर ०.२६ प्रतिशतमा सीमित भएको छ, जुन वित्तीय क्षेत्रमै अत्यन्तै न्यून र सुरक्षित मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij