२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

480
Shares

भद्रपुर – नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन ४ गतेसम्म जिल्लामा कूल ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षको यही अवधिको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ भएको छ । सुरुमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका छन् ।

“सुरुमा वर्षा नहुँदा रोपाइँ केही ढिलो भएको थियो । असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाभरि तीव्र रूपमा रोपाइँ भइरहेको छ । गतवर्षको तुलनामा यसवर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ”, प्रमुख विष्टले बताउनुभयो ।

उहाँका अनुसार हाल जिल्लाको गौरीगञ्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ । साउनको अन्त्यसम्म जिल्लाका अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुनेछ । झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij