२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन बोर्डका नवनियुक्त सदस्यः निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड

पर्यटन बोर्डका नवनियुक्त सदस्यः निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड

445
Shares

काठमाडौँ- नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यलाई आज बोर्डमा स्वागत गरिएको हो ।

यससँगै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम तथा हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराउनुभएको थियो । स्वागत कार्यक्रममा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्द्धनलाई परिणाममुखी ढङ्गले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम, बोर्डको संरचना, अवसर र चुनौतीबारे नवनियुक्त सदस्यलाई जानकारी गराउनुभएको थियो । उहाँले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले काम गरिरहेको विषयमा जानकारी गराउनुभएको थियो ।

नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सदस्य सहदेव धमलाले निजी क्षेत्रका समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेट तीन ‘पी’ अर्थात् पर्यटन क्षेत्रको संरक्षण ( प्रोटेक्सन), संवर्द्धन (प्रिजर्भेसन) र प्रवर्द्धन (प्रमोसन) मा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी बोर्ड सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

बोर्ड सदस्य डा सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्दै प्रभावकारी व्यवस्थापन र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij