२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर

परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर

515
Shares

बागमती- हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रममा ‘हातको सीपले जीविकामात्र होइन पुस्तौँदेखिको संस्कृतिलाई पनि जोगाउँछ’ भन्ने भावलाई अङ्गीकार गर्दै विभिन्न समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण तथा सामग्री उत्पादन र बजारीकरणका लागि सहयोग र सहजीकरण गरिने उल्लेख गरेको छ ।

‘उद्यमशील हातः समृद्धिको सुरुआत’ नीतिअन्तर्गत नयाँ उद्यमीलाई प्रविधिमा सहयोग तथा सीपसम्बन्धी ज्ञान प्रदान गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताउनुुभयो । गुन्द्रुक, मस्यौरा, ढाका, अबिर, केशरी, ड्रयागन, मेवा, केराको रेसा, खुवा, काष्ठ ठेकीलगायतका उद्योगबाट हुने उत्पादनको लेवलिङ, ब्रान्डिङ तथा बजारीकरण गर्न सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा नवउद्यमी प्रवर्द्धन गर्न सीप विकास, व्यवसाय विस्तार र बजारीकरणमा उपमहानगरपालिकाले जोड दिएको छ । ‘सशक्त महिला, समृद्ध समाज’मा जोड दिँदै महिला सशक्तीकरणका लागि महिलाका नाममा उत्पादनमूलक उद्योग व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था गरिने नगरप्रमुख लामाले बताउनुुभयो । कम्तीमा १५ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिनेगरी नयाँ दर्ता हुने उद्यम व्यवसायलाई पहिलो वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने उपमहानगरको योजना छ ।

‘स्थानीय उत्पादन र उद्यमीको भर, हेटौँडा उपमहानगरपालिकाको कोसेली घर’ भन्ने नीतिअनुरुप विभिन्न उद्यमी समूहबाट उत्पादन भएका सामग्रीको प्रदर्शन तथा बिक्रीको व्यवस्थाका लागि हेटौँडा उपमहानगरपालिका–१० मा सञ्चालनमा रहेको कोसेली घर चालु आवमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने नगरप्रमुख लामाले बताउनुभयो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमसँगको सहकार्यमा एक वडा एक उद्यम कार्यक्रमलाई निरन्तरता दिई थप वडामा विस्तार गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij