काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
अदालतको आदेशसँगै उनी अब हिरासतबाट मुक्त भएर बाहिरै बसेर मुद्दाको प्रतिरक्षा गर्ने भएका छन्। अदालतको आदेश लगत्तै आगामी २८ गतेको तारेख बुझेर पौडेल घर पुगेका छन् ।
पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनी अनायास पक्राउ परेका हुन् । उनलाई हायस गाडीमा हालेर काठमाडौं ल्याइएको थियो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानपछि पौडेललाई २० करोड ९० लाख बिगो कायम गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij