२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

675
Shares

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा देशका सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

बैंकका अनुसार सातै प्रदेशमा रहेका आफ्ना १४८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो। कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बागमती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्फत महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो। यी कार्यक्रमबाट करिब १० हजार जना लाभान्वित भएको बैंकले जनाएको छ।

कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्व, सुरक्षित बैंकिङ अभ्यास, डिजिटल बैंकिङको विस्तारसँगै बढ्दै गएको साइबर अपराध तथा वित्तीय जोखिमका विषयमा जानकारी दिइएको थियो। साथै नगद कारोबार, रेमिट्यान्स तथा अन्य वित्तीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्न सहभागीलाई आग्रह गरिएको बैंकले जनाएको छ। यसबाट बैंकिङ प्रणालीप्रतिको विश्वास बढ्नुका साथै सर्वसाधारणमा वित्तीय ज्ञान विस्तार हुने अपेक्षा बैंकको छ।

यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोगसमेत उपलब्ध गराएको छ। हुम्लाको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार यस्ता सामाजिक तथा वित्तीय सशक्तीकरणका कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ स्वचालित नगद वितरण केन्द्र, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले हालै युवा लक्षित ‘जेन–जी बचत खाता’, स्वतन्त्र पेशाकर्मी लक्षित ‘स्वतन्त्र पेशाकर्मी बचत खाता’, एकीकृत ‘डिजिटल बैंक सेवा’, मोबाइल बैंकिङमार्फत नै शेयर आवेदन र स्थायी ग्राहक सङ्केताङ्क प्राप्त गर्ने सुविधा तथा अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट द्रुत प्रतिक्रिया सङ्केत प्रयोग गरी नगद प्राप्त गर्न सक्ने सेवासमेत सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij