काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार साउन १ गतेदेखि विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आउन लागेको हो।
आन्तरिक राजस्व विभागले आवश्यक तयारी पूरा गरिसकेको छ भने नेपाल विद्युत् प्राधिकरणले पनि नयाँ व्यवस्थाअनुसार बिलिङ प्रणाली तयार पारेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार घरायसी ग्राहकले ५० युनिटभन्दा बढी विद्युत् खपत गरेमा ५० युनिटमाथिको खपतमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ। साउन महिनाको खपतको बिल भदौमा आउने भएकाले सोही बिलबाट नयाँ व्यवस्था लागू हुनेछ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार साउनदेखि लागू हुने व्यवस्थाका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि प्राधिकरण स्वयं भ्याटमा दर्ता नभए पनि अब त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको उनले बताए।
यस्तै, घरायसी बाहेकका सबै ग्राहकले भने १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई मात्रै अन्तिम उपभोक्ताका रूपमा परिभाषित गरेपछि अन्य सबै उपभोक्तामा १३ प्रतिशत भ्याट लागू हुने भएको हो।
यसअनुसार औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान, सरकारी कार्यालय, सार्वजनिक संस्थान, सरकारी तथा निजी अस्पताल, विद्यालय, उद्योग, व्यापारिक फर्म, होटल तथा रेस्टुरेन्ट, विद्युतीय सवारी चार्जिङ स्टेशन, सिँचाइ, खानेपानी र सडकबत्ती सेवामा पनि १३ प्रतिशत भ्याट लाग्नेछ।
सरकारको यो व्यवस्थासँगै विद्युत् महसुलको संरचनामा परिवर्तन आउने भएको छ भने गैर–घरायसी उपभोक्ताको विद्युत् खर्च बढ्ने देखिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij