२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा डिम्याट खाता ७७ लाख नाघ्यो, २६ प्रतिशत सेयर बजारसँग जोडिए

नेपालमा डिम्याट खाता ७७ लाख नाघ्यो, २६ प्रतिशत सेयर बजारसँग जोडिए

675
Shares

काठमाडौं – नेपालमा धितोपत्र बजारमा सहभागी लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र, २०८३ अनुसार देशभर डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार ५६५ पुगेको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म करिब १७ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या पाँच वर्षको अवधिमा झन्डै साढे चार गुणाले बढेको हो। हाल देशको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी नागरिकसँग डिम्याट खाता रहेको बोर्डले जनाएको छ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै डिम्याट खाता बागमती प्रदेशमा रहेको छ, जहाँ कुल खातामध्ये ३४.१३ प्रतिशत रहेका छन्। त्यसपछि कोशी प्रदेशमा १८.९३ प्रतिशत, मधेश प्रदेशमा १२.६८ प्रतिशत, गण्डकी प्रदेशमा १२.४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२.१४ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६.६७ प्रतिशत तथा कर्णाली प्रदेशमा सबैभन्दा कम २.९८ प्रतिशत डिम्याट खाता रहेका छन्।

मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा करिब सात लाख रहेको यस्तो खाताको संख्या चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७ लाख ३७ हजार २५४ पुगेको छ। यो देशको कुल जनसंख्याको करिब २३ प्रतिशत बराबर हो।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न आवश्यक अनलाइन कारोबार प्रणाली खातामा पनि तीव्र वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा करिब ३५ हजार मात्र रहेको यस्तो खाताको संख्या चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३४ लाख ६६ हजार ४९९ पुगेको प्रतिवेदनमा उल्लेख छ।

धितोपत्र बोर्डका अनुसार पुँजी बजार विस्तारसँगै सरकारको पुँजीगत लाभकरबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १० अर्ब ७० करोड रुपैयाँ सङ्कलन भएको छ। यद्यपि चालु वर्ष सेयर बजारमा आएको गिरावटका कारण अपेक्षाअनुसार राजस्व वृद्धि हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार पछिल्ला तीन दशकमा नेपालको पुँजी बजारको आकार उल्लेखनीय रूपमा विस्तार भएको छ। सन् २०२६ सम्म नेपाल स्टक एक्सचेन्जमा २९७ कम्पनी सूचीकृत भएका छन् भने बजार पुँजीकरण करिब ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ। यो देशको कुल गार्हस्थ्य उत्पादनको करिब ७०.५२ प्रतिशत बराबर रहेको धितोपत्र बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij