२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बैंक तथा वित्तीय संस्थाबाट ११ महिनामा ३.४० खर्बभन्दा बढी कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाबाट ११ महिनामा ३.४० खर्बभन्दा बढी कर्जा प्रवाह

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। निजी क्षेत्रतर्फ कर्जाको विस्तारसँगै आर्थिक गतिविधिमा सुधारको संकेत देखिएको छ।

625
Shares

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६.२ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३ खर्ब ४० अर्ब रुपैयाँ कर्जा विस्तार भएको हो ।

कर्जा विस्तारको दर पोहोरको तुलनामा सुस्ताएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कर्जा विस्तार ८ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाबाट जेठ मसान्तसम्म कुल ५८ खर्ब ३८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।

पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तार सुस्ताएको छ । ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर यो जेठमा ४.८८ प्रतिशतमा झरेको छ, जबकि गत वर्षको जेठमा यस्तो दर ६.०९ प्रतिशत थियो । सोही अवधिमा विकास बैंकको औसत आधार दर ८.२९ बाट ६.८६, फाइनान्सको ९.०२ बाट ७.१६ प्रतिशतमा झरेको छ ।

त्यस्तै कर्जाको भारित औसत ब्याजदर पनि उच्च दरले नै घटेको छ । कर्जामा भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ७.९९ बाट ६.६४, विकास बैंकहरुको ९.४० बाट ७.७१ तथा फाइनान्स कम्पनीहरुको १०.२२ बाट ८.९० प्रतिशतमा झरेको छ ।

यहीं ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम भने १०.३ प्रतिशतले बढेको छ । ११ महिनामा निक्षेप रकम ७ खर्ब ४८ अर्ब रुपैयाँ थप भएसँगै जेठ मसान्तसम्म कुल निक्षेप ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप रकम पोहोरको तुलनामा बढेको छ । गत आर्थिक वर्ष यहीं अवधिमा निक्षेप ८ प्रतिशतले नै बढेको थियो । कर्जाभन्दा निक्षेपको वृद्धि उच्च भइरहँदा तरलता व्यवस्थापनमा चुनौती थपिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij