२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स

बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स

555
Shares

काठमाडौं- बुक बिल्डिङ विधिमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता ४५० रुपैयाँमा शेयर बिक्री गर्ने भएको छ। योग्य संस्थागत लगानीकर्ताबीच सम्पन्न बोलकबोल प्रक्रियाबाट प्रतिशेयर ५०० रुपैयाँ कटअफ मूल्य तय भएपछि धितोपत्र बोर्डको व्यवस्थाअनुसार १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि ४५० रुपैयाँ मूल्य निर्धारण गरिएको हो।

कम्पनीले जारी पूँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत बराबर कुल १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकिएको छ भने बाँकी ६ लाख ५१ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

बुक बिल्डिङ विधिअन्तर्गत सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेकाले आवेदन दिन कम्तीमा २२ हजार ५०० रुपैयाँ आवश्यक पर्नेछ।

नेप्से स्रोतका अनुसार कम्पनीको शेयर खरिदका लागि ४४ वटा योग्य संस्थागत लगानीकर्ताले आशयपत्र पेस गरेका थिए। असार २२ देखि २६ गतेसम्म सञ्चालन भएको बोलकबोल प्रक्रियाबाट अन्तिम कटअफ मूल्य र शेयरको परिमाण निर्धारण गरिएको हो। अब कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति लिने प्रक्रिया अघि बढाउनेछ।

वि.सं. २०५२ मा स्थापना भएको टाइम फर्मास्युटिकल्सको उत्पादन केन्द्र नवलपरासीको गैँडाकोटमा रहेको छ। कम्पनीले हाल २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ। स्वदेशी बजारसँगै चीन र भारतलगायतका देशमा समेत औषधि निर्यात गरिरहेको कम्पनीको शेयर नेप्सेको ‘उत्पादन तथा प्रशोधन’ समूहमा सूचीकृत हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij