२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

700
Shares

 

काठमाडौँ -नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ बैंकिङ एण्ड बियोन्ड अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा नबिलको नेतृत्वदायी भूमिका

सम्बोधनका क्रममा अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको घोषणा गरे। एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनले बताए।

नबिल बैंकले यस परिवर्तनमा केवल सहभागी मात्र नभई यसको नेतृत्व गर्ने तयारी गरिसकेको जानकारी दिँदै उनले भने, “एनबैंक (nBank) को अबको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ। यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ। यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ। प्रविधि जतिसुकै बौद्धिक बने पनि हाम्रो मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिनेछ, किनकि बैंकिङ केवल वित्तीय कारोबार मात्र होइन, यो सपनाहरू साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम हो।”

तिव्र वित्तीय वृद्धि र रणनीतिक कार्यसम्पादन

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बैंकको सुखद यात्रामा अनवरत साथ र सहयोग दिने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गरे।

सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौँ ग्राहकको अटुट विश्वास र हजारौँ कर्मचारीको निष्ठाका कारण यो गौरवमय उचाइसम्म आइपुगेको उनले बताए।

“यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकरु र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नविनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौं। हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौं, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं। हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड,” सीईओ ज्ञवालीले भने।

ग्राहकहरूको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दृढ संकल्प लिएको छ। देशको आर्थिक विकासका लागि रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको बैंकले हालसम्म विभिन्न क्षेत्रमा गरेको कर्जा लगानीको अवस्था यस प्रकार छ:

  • कृषि क्षेत्र: रु. ५३ अर्ब ३१ करोड
  • ऊर्जा क्षेत्र: रु. ५१ अर्ब ६ करोड
  • लघु, घरेलु, साना तथा मझौला उद्योग (MSMEs): रु. ४५ अर्ब ९२ करोड
  • पर्यटन क्षेत्र: रु. ११ अर्ब, १० करोड

प्रमुख वित्तीय सूचकांकमा अभूतपूर्व प्रगति

विगत ४२ वर्षको अवधिमा बैंकले वित्तीय बजारमा आफ्नो अभूतपूर्व उपस्थिति जनाएको छ:

  • नेटवर्थ र नाफा: आर्थिक वर्ष २०४१/४२ मा बैंकको कुल नेटवर्थ रु. २ करोड ८० लाख र खुद नाफा रु. १० लाख रहेकामा चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ रु. ७० अर्ब ८३ करोड र खुद नाफा रु. ६ अर्ब ७६ करोड पुगेको छ।
  • निक्षेप र कर्जा: सुरुआती चरणमा रु. १४ करोड ६० लाख मात्र रहेको निक्षेप संकलन बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ भने कर्जा प्रवाह पनि रु. १३ करोड ३० लाखबाट बढेर रु. ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ। कुल सम्पत्ति पनि रु. २६ करोड ९० लाखबाट बढेर रु. ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको छ।
  • नेटवर्क सञ्जाल: २ शाखा र १४४ कर्मचारीबाट सुरु भएको सेवा सञ्जाल अहिले देशैभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ दक्ष कर्मचारीहरूसम्म विस्तार भई २६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

वार्षिकोत्सवका ग्राहककेन्द्रित विशेष योजना र अफरहरू

यो ऐतिहासिक ४२औँ वार्षिकोत्सवलाई उत्सवमय बनाउन नबिल बैंकले ४२ दिन लामो विशेष प्रवर्द्धनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका योजनाहरू सार्वजनिक गरेको छ:

  • पुनःनिर्माण घर कर्जा योजना: हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि लक्षित गरी बैंकले यो योजना ल्याएको हो । आधार दर (Base Rate) मा मात्र ०.५ प्रतिशत प्रिमियम ब्याजदर थप गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।
  • लकर र गेटवेमा छुट अफर: बैंकले लकर सेक्युरिटी डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड र इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी) जस्ता सेवा लिन चाहने ग्राहकका लागि विशेष योजना ल्याएको छ । लकर सेक्युरिटी डिपोजिट सुविधा लिन चाहने ग्राहकले ४२ प्रतिशत छुट पाउने छन् भने इपिजी सेवा लिन चाहने ग्राहकले १५ हजार रुपैयाँको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
  • क्रेडिट र डेबिट कार्ड अफर: क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले आवेदन शुल्क र एक वर्षको सदस्यता शुल्कमा पनि छुट पाउनेछन् । यी सुविधाहरू बैंकको वार्षिकोत्सवको अवसरमा ४२ दिनसम्म लागू हुनेछन् । डेबिट कार्डका हकमा भने वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकले चार वर्षसम्म डेबिट कार्ड प्रयोग गर्न पाउनेछन्।

नबिल बैंकले देशभर २६४ शाखा सञ्जालसहित ३१५ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij