२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंक ‘नेगेटिभ वाच’ सूचीमा, रेटिङ थप घट्न सक्ने संकेत

गरिमा विकास बैंक ‘नेगेटिभ वाच’ सूचीमा, रेटिङ थप घट्न सक्ने संकेत

760
Shares

 

काठमाडौं – नेपालको स्थापित विकास बैंकहरूमध्ये एक गरिमा विकास बैंक लिमिटेड (GBBL) को वित्तीय अवस्थामाथि पुनः प्रश्न उठेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई पुनः ‘[ICRANP-IR] BBB-@’ रेटिङ प्रदान गर्दै ‘नकारात्मक प्रभाव पर्न सक्ने निगरानी (Rating Watch with Negative Implications)’ मा राखेको छ।

इक्राले दिएको BBB-@ रेटिङले बैंकको वित्तीय स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको तथा सम्पत्तिको गुणस्तर, तरलता र कर्जा व्यवस्थापनसँग सम्बन्धित जोखिम अझै कायम रहेको संकेत गरेको हो। रेटिङमा प्रयोग गरिएको ‘@’ चिन्हले बैंकको रेटिङ भविष्यमा घट्न सक्ने सम्भावनाप्रति विशेष निगरानी भइरहेको जनाउँछ।

नकारात्मक निगरानीको अर्थ के हो?

रेटिङ एजेन्सीहरूले कुनै संस्थाको वित्तीय अवस्था कमजोर बन्दै गएको वा आगामी दिनमा थप जोखिम बढ्ने सम्भावना देखिएमा त्यसलाई ‘Rating Watch with Negative Implications’ मा राख्ने गर्छन्।

गरिमा विकास बैंकले खराब कर्जा नियन्त्रण, असुली सुधार तथा तरलता व्यवस्थापनमा उल्लेखनीय सुधार गर्न नसके वर्तमान BBB- रेटिङ घटेर Speculative Grade मा पुग्न सक्ने जोखिम रहेको इक्राले जनाएको छ। यस्तो अवस्था आएमा बैंकको साखमा असर पर्नुका साथै वित्तीय स्रोत जुटाउने लागतसमेत बढ्न सक्छ।

इक्राका अनुसार बैंकको खराब कर्जा (NPL) बढेर ४.७७ प्रतिशत पुगेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको ५ प्रतिशत सीमाको निकै नजिक हो।

त्यसभन्दा पनि चिन्ताजनक पक्ष भनेको बैंकको ०+ दिन भाखा नाघेको कर्जा (Overdue Loans) करिब २६ प्रतिशत पुगेको तथ्य हो। अर्थात्, बैंकले प्रवाह गरेको कुल कर्जामध्ये एक चौथाइभन्दा बढी कर्जामा सावाँ वा ब्याज समयमै उठ्न सकेको छैन। यस्तो अवस्था कायम रहे भविष्यमा ती कर्जाहरू खराब कर्जामा रूपान्तरण हुने जोखिम उच्च रहने इक्राको विश्लेषण छ।

मध्य अप्रिल २०२६ सम्म बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) ८७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले यसको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ।

सीमाको नजिक पुगेको सीडी रेसियोले बैंकसँग नयाँ कर्जा विस्तार गर्ने क्षमता सीमित बन्दै गएको संकेत गर्छ। निक्षेप वृद्धिदर सुस्त भए वा बजारमा ब्याजदरमा उतारचढाव आए बैंकको तरलता व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।

बैंकको खराब कर्जा र खुद सम्पत्तिको अनुपात पनि बढ्दो क्रममा देखिएको छ। सन् २०२५ मा ७ प्रतिशत रहेको उक्त अनुपात सन् २०२६ मा १० प्रतिशत पुगेको छ।

यसले बैंकको पुँजीको ठूलो हिस्सा खराब कर्जाको जोखिम व्यवस्थापनमै खर्च भइरहेको देखाउँछ। कर्जाको गुणस्तरमा आएको गिरावटले बैंकको दीर्घकालीन नाफा आर्जन क्षमता र पुँजीगत मजबुतीमा समेत असर पार्न सक्ने इक्राले उल्लेख गरेको छ।

इक्रा नेपालले गरिमा विकास बैंकको मात्र नभई समग्र ‘ख’ वर्गका विकास बैंकहरू संरचनागत चुनौतीको सामना गरिरहेको जनाएको छ। ठूलो पुँजी, फराकिलो सेवा सञ्जाल र प्रतिस्पर्धी वित्तीय उत्पादनका कारण ‘क’ वर्गका वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्न विकास बैंकहरूलाई कठिन हुँदै गएको प्रतिवेदनमा उल्लेख छ।

यस्ता चुनौतीका बीच गरिमा विकास बैंकले कर्जा असुली, जोखिम व्यवस्थापन, पूँजी सुदृढीकरण र तरलता सुधारमा प्रभावकारी कदम चाल्न नसके भविष्यमा यसको क्रेडिट रेटिङमा थप दबाब पर्न सक्ने संकेत इक्रा नेपालको प्रतिवेदनले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij