२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट

एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट

475
Shares

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आयोजना हुने अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। खेलाडी छनोट प्रक्रिया सम्पन्न भएसँगै अक्सन सोमबार आयोजना हुने तय भएको छ।

क्यानका अनुसार अक्सनका लागि कुल ३४७ खेलाडीले आवेदन दिएका थिए। तीमध्ये ५ खेलाडी ‘ए’ क्याटेगोरी, २७ खेलाडी ‘बी’ क्याटेगोरी र १२३ खेलाडी ‘सी’ क्याटेगोरीमा समावेश गरिएका छन्। अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन्।

तेस्रो संस्करणदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा थप दुई नेपाली खेलाडी समावेश गरिने व्यवस्था लागू गरिएको क्यानले जनाएको छ। मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित प्रत्येक टोलीमा कुल १४ खेलाडी रहनेछन्।

फ्रेन्चाइज टोलीहरूको खर्च सीमा अनुसार सबैभन्दा धेरै रकम खर्च गर्न पाउने टोली जनकपुर बोल्ट्स रहेको छ, जससँग ६६ लाख २५ हजार रुपैयाँको बजेट उपलब्ध छ। त्यसपछि विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार तथा कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२ लाख रुपैयाँ खर्च सीमा रहेको छ। सबैभन्दा कम बजेट भने काठमाडौँ गोर्खाजसँग ३४ लाख रुपैयाँ रहेको छ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स भने दुवै संस्करणमा उपविजेतामै सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij