२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि प्राइम कमर्शियल बैंक ऋणपत्र बिक्रीमा

आजदेखि प्राइम कमर्शियल बैंक ऋणपत्र बिक्रीमा

520
Shares

काठमाडौं -प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गते आजदेखि ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ३ गते ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । १० वर्ष अवधिको वार्षिक ६ दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०९३’ नामको ऋणपत्र कम्पनीले निष्कासन गरेको हो ।

प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्नेछ । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरूमा विक्री गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीले जनाएको छ ।

सामूहिक लगानीकोषका लागि ६० हजार कित्ता ऋणपत्र सुरक्षित गरिनेछ । सार्वजनिक निष्कासनमा आउने ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । निष्कासन मिति छिटोमा असार १९ गतेसम्म तय गरिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलोमा असार ३० गतेसम्म निष्कासन लम्बिनेछ ।

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्ने केयरएनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग ए पाएको छ । यो ऋणपत्र बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरूले तोकिएको ब्याजदर प्राप्त गर्नेछन् ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था छ । यो ऋणपत्र धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij