काठमाडौं – फिफा विश्वकपको समूह ‘सी’ को अन्तिम खेलमा मोरक्कोले हाइटीलाई ४-२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पुनरागमन जित निकाल्दै समूह उपविजेताको रूपमा अन्तिम ३२ मा स्थान बनाएको हो।
६८ हजार २ सय ३९ दर्शकको उत्साहजनक उपस्थितिमा भएको खेलको सुरुवात मोरक्कोका लागि सुखद रहेन। खेलको १०औँ मिनेटमै मोरक्कोका अनुभवी गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल हुन पुगेपछि हाइटीले अप्रत्याशित अग्रता लिएको थियो। तर, ३९औँ मिनेटमा मोरक्कोका स्टार डिफेन्डर अचराफ हाकिमीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
खेलको पहिलो हाफको अन्त्यतिर निकै नाटकीय दृश्य देखियो। ४३औँ मिनेटमा हाइटीका विल्सन इसिडोरले गोल गर्दै पुनः आफ्नो टोलीलाई २-१ को अग्रता दिलाए। तर, हाइटीको त्यो खुसी धेरै समय टिक्न सकेन। पहिलो हाफको इन्जुरी समयमा हाकिमीकै पासलाई सदुपयोग गर्दै इस्माइल सैबारीले मोरक्कोका लागि बराबरी गोल फर्काए।
यससँगै पहिलो हाफ २-२ को स्थितिमा सकिएको थियो। दोस्रो हाफमा मोरक्कोले खेलमा नियन्त्रण जमायो। ७८औँ मिनेटमा चादी रियादको पासमा सुफियान राहिमीले गोल गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३-२ को अग्रता दिलाए। खेलको अन्तिम समय अर्थात् ८९औँ मिनेटमा गेसिम यासिनले मोरक्कोका लागि चौथो गोल थपे।
यो जितसँगै मोरक्को समूह ‘सी’ बाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ। यसै समूहको अर्को खेलमा स्कटल्याण्डलाई ३-० ले हराएको ब्राजिल समूह विजेता बनेको छ। हाइटी भने समूहका सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ३ अंक जोडेको स्कटल्याण्डले भने अघिल्लो चरण प्रवेशका लागि ‘उत्कृष्ट तेस्रो’ टोलीको सूचीमा पर्न अन्य खेलको नतिजा कुर्नुपर्ने भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij