काठमाडौं – प्रभु बैंकको कर्जा अपचलनसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले मुख्य प्रतिवादी ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
उच्च अदालत पाटन, संयुक्त वाणिज्य इजलाश नम्बर ४ का न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलाशले नेपाल राष्ट्र बैंक तथा वित्तीय अपराधसम्बन्धी अनुसन्धानबाट अघि बढाइएको बैंकिङ कसूर मुद्दामा यस्तो आदेश दिएको हो।
अदालतले ओमप्रसाद पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। आदेशअनुसार, पाण्डेलाई कारागार कार्यालयमार्फत थुनामा राखिनेछ र स्वास्थ्यमा समस्या देखिए सम्बन्धित कारागार कार्यालयले उपचारको उचित व्यवस्था मिलाउनुपर्नेछ।
साथै, प्रभु बैंकका तत्कालीन उच्च पदस्तहरुलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । मुद्दामा ओमप्रसाद पाण्डे, अशोक शेरचन, मनिराम पोखरेल, ऋवश श्रेष्ठ, रश्मी पन्त, देव ढुंगाना, हरिमान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचन प्रतिवादी छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो अनुसन्धान गरेपछि विशेष सरकारी वकिलको कार्यालय मार्फत सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको थियो ।



© 2026 All right reserved to arthanepal.com | Site By : Sobij