काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ।नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले २:१ अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। प्रति शेयर अंकित मूल्य रु १०० तोकिएको छ, जुन बैंकको हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हो।
यसका लागि बैंकले एनआईएमबी एसीई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। हकप्रद शेयर निष्कासन प्रक्रिया आवश्यक अन्य नियामक स्वीकृति तथा औपचारिकता पूरा भएपछि अघि बढाइने बैंकले जनाएको छ। यस निष्कासनबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ गर्न, क्यापिटल एडिक्वेसी रेसियो सुधार गर्न तथा दीर्घकालीन व्यवसाय विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयनमा प्रयोग गरिनेछ।
सम्झौतापत्रमा बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइँटेल र एनआईएमबी एसीई क्यापिटलका उपप्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगाना बीच हस्ताक्षर भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij