२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तुलसीपुर उपमहानगरले ल्यायो दुई अर्ब ४४ करोडको बजेट

तुलसीपुर उपमहानगरले ल्यायो दुई अर्ब ४४ करोडको बजेट

670
Shares

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाको १९औँ नगरसभाको अधिवेशनमा आज नगर उपप्रमुख श्यानी चौधरीले ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुर’ भन्ने मूल नाराका साथ उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आवको बजेटको कुल विनियोजनमध्ये चालु खर्चतर्फ एक अर्ब ३९ करोड ६० लाख २१ हजार (५७ प्रतिशत) र पुँजीगततर्फ एक अर्ब एक करोड ३८ लाख २८ हजार (४१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ चार करोड (१.६५ प्रतिशत) रहेको छ ।

आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोतबाट ५४ करोड, संघीय सरकारको समानीकरण अनुदानबाट २८ करोड ७७ लाख, संघीय शसर्त अनुदानबाट ६७ करोड २३ लाख र गत वर्षको बैंक मौज्दातबाट ३० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । नगरका १९ वटै वडाका लागि एक करोडका दरले जम्मा १९ करोड वडास्तरीय योजनाका लागि विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि तीन करोड, स्वास्थ्य पूर्वाधारका लागि एक करोड र खानेपानी तथा सरसफाइका लागि एक करोड छुट्याइएको छ ।

बजेटमा ‘स्मार्ट छोरी’ कार्यक्रमका लागि ५० लाख, मुख्य बजारमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि ५० लाख, कृषि एम्बुलेन्सका लागि ६० लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन, गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र स्वास्थ्य चौकीमा गर्भवती जाँच गराउन आउनेलाई प्रतिपटक एक क्यारेट अण्डा वितरण गर्ने कार्यक्रमका लागि ८५ लाख विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि तीन करोड र पशु विकास सेवाका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर र आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्न एक/एक करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij