२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डद्वारा बोस्निया एन्ड हर्जगोभिना ४-१ गोलले पराजित

फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डद्वारा बोस्निया एन्ड हर्जगोभिना ४-१ गोलले पराजित

785
Shares

काठमाडौं- फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गरे। यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक–एक गोल थपे।

खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको दिशा नै परिवर्तन भएको थियो।

ब्रिल एम्बोलोलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्न पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सोझै रातो कार्ड दिएका थिए।

त्यसअघि लामो समयसम्म बोस्नियाको रक्षात्मक रणनीतिले स्विट्जरल्यान्डलाई रोकिरहेको थियो। तर प्रशिक्षक मुराट याकिनले ७१औँ मिनेटमा मान्जाम्बीलाई मैदान छिराएपछि खेलको गति फेरियो।

मान्जाम्बीले मैदान प्रवेश गरेको केही समयमै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। बायाँ विंगबाट भार्गासले दिएको क्रस क्लियर गर्ने प्रयास असफल भएपछि पेनाल्टी क्षेत्रभित्र आएको बलमा मान्जाम्बीले शक्तिशाली भली प्रहार गर्दै गोल गरेका थिए।

मुहारेमोभिचको बहिर्गमनपछि स्विट्जरल्यान्डले थप दबाब सिर्जना गर्‍यो। ८४औँ मिनेटमा एम्बोलोले बल नियन्त्रण गर्दै भार्गासतर्फ पास दिएपछि उनले तल्लो कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए।

९०औँ मिनेटमा भार्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० को सहज स्थितिमा पुर्‍याए। इन्जुरी समयमा बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माह्मिकले शानदार भलीमार्फत एक गोल फर्काए पनि त्यसको केहीबेरपछि जाकाले पेनाल्टीमा गोल गर्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे।

यो नतिजापछि एक जित र एक बराबरीसहित स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij