काठमाडौं – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’को खेलमा सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ । खेलमा फ्रान्स ३-१ गोलले विजयी भएको हो । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफमा सेनेगलले बलियो रक्षापंक्ति प्रदर्शन गर्दै फ्रान्सलाई रोकेको थियो। सेनेगलका निकोलस ज्याक्सनको प्रहार पोलमा ठोकिएको थियो भने इस्माइला सारले पनि गोल गर्ने सुनौलो अवसर गुमाएका थिए।
दोस्रो हाफमा आक्रामक बनेको फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले ६६औँ मिनेटमा पहिलो गोल गरे। ८१औँ मिनेटमा वैकल्पिक खेलाडी ब्राड्ली बार्कोलाले गोल गर्दै अग्रता २–० बनाए। खेलको इन्जुरी समयमा सेनेगलका युवा खेलाडी इब्राहिम म्बायले एक गोल फर्काए। तर त्यसको केही सेकेन्डमै एम्बाप्पेले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै फ्रान्सको जित निश्चित गरे।
यो दुई गोलसँगै एम्बाप्पे (५८ गोल) ओलिभर जिरुड (५७ गोल) लाई पछि पार्दै फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij