२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भट्ट, अग्रवाल, गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा, २३ अर्बभन्दा बढी बिगो दाबी

भट्ट, अग्रवाल, गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा, २३ अर्बभन्दा बढी बिगो दाबी

670
Shares

काठमाडौं –  नेपालको वित्तीय इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराध मानिएको घटनामा बिचौलिया, ठूला उद्योगी-व्यवसायी, बीमा कम्पनीका सञ्चालक तथा नियामक निकायका पूर्वप्रमुखसहित ८१ जनाविरुद्ध चारवटा फरक-फरक मुद्दा दायर गरिएका छन् ।

सेयर बजार चलखेल, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी आरोपमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवालसहित ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण, धितोपत्र बजारमा कृत्रिम कारोबार, बीमा कम्पनीको कोष दुरुपयोग तथा बैंकिङ कसुरसम्बन्धी अभियोगमा बिहीबार विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

विशेष सरकारी वकिलको कार्यालयले दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। यस प्रकरणमा शेखर गोल्छा, साहिल अग्रवाल, सुलभ अग्रवाल, उपासना पौडेल, राजबहादुर शाहलगायत व्यवसायी तथा बिमा क्षेत्रका उच्च पदाधिकारी प्रतिवादी बनाइएका छन्।

त्यसैगरी, सेयर बजारमा ‘सर्कुलर ट्रेडिङ’ मार्फत कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको आरोपमा ८१ जनाविरुद्ध धितोपत्रसम्बन्धी कसुरमा करिब १ अर्ब १४ करोड रुपैयाँ बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ।

यस्तै, बैंकिङ कसुरअन्तर्गत दीपक भट्ट, साहिल अग्रवाल, शंकरलाल अग्रवाल र सुलभ अग्रवालविरुद्ध ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ।

अभियोगपत्रअनुसार जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट लिएको कर्जामध्ये ठूलो रकम दीपक भट्टको व्यक्तिगत खातामा सारेर सेयर लगानीमा प्रयोग गरिएको, नक्कली बैना कागजात बनाएर बैंक तथा नियामक निकायलाई झुक्याइएको तथा ब्रोकर कम्पनीमार्फत सेयर बजारमा संगठित चलखेल गरिएको आरोप छ।

को-को छन् मुख्य प्रतिवादी ?

अभियोगपत्रमा दीपक भट्टलाई मुख्य प्रतिवादीका रूपमा उल्लेख गरिएको छ । साथै हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन अध्यक्ष आशिष श्रेष्ठ, हिमालयन सेक्युरिटिज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुवासबहादुर श्रेष्ठ तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टलाई प्रमुख भूमिकामा देखाइएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन सञ्चालक अध्यक्ष सुलभ अग्रवाललाई भने योजनाको प्रमुख समन्वयकर्तामध्ये एकका रूपमा चित्रण गरिएको छ । रोहित गुप्ता, राजबहादुर शाह, अमित मोर, साहिल अग्रवाल, ऋषिराज मोर, शुभी अग्रवाल, राजीव मोर, सन्दीप चाचान अग्रवालसहित विभिन्न बीमा, बैंकिङ, मर्चेन्ट बैंकिङ र धितोपत्र कारोबारसँग सम्बन्धित उच्च पदस्थ अधिकारीहरू पनि प्रतिवादी बनाइएका छन् ।

यस्तै, उपासना पौडेल, मृगेन्द्र नाथ रिमाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, सुजल मल्ल, राजीव मोर, सुभेच्छा खरेल, सुवास कुमार झुनझुनवाला, मनिष कुमार, दीपक कुमार श्रेष्ठ, सिताराम वाग्ले, आकांक्षा गुप्ता, शिशिर गैह्रे, रितेश प्रधान, कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, विनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शम्शेर जबरा, सुवास पौडेल, शालिनी संघाई, प्रतिक जोशी, सन्दीप चाचान अग्रवाल, शुभी अग्रवाल र ऋषिराज मोर प्रतिवादीका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij