काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा सचिव पदमा ५ जना उम्मेदवारहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
सर्वसम्मत रूपमा निर्वाचित हुने सचिवहरूमा युनीयन हाइड्रोपावर लि. का अभिज्ञा मल्ल, निलगिरी खोला हाईड्रोपावर कम्पनीकी ईशा श्रेष्ठ, रिडी पावर कम्पनीका कुवेर मणि नेपाल, मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका विजय मोहन भट्टराई र धौलाश्री पावर कम्पनीका सुमन कुमारी जोशी रहेका छन्।
यसअघि महिलातर्फको उपमहासचिव पदमा कविता पोखरेल निर्विरोध निर्वाचित भइसकेकी छन्। निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धामा छन् । पाँच उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुशन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन् ।
महासचिव पदमा टेकनाथ आचार्य (टि.एन. आचार्य) र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्ष पदका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल उमेदवार रहेका छन् ।
सदस्यतर्फ खुला सात पदका लागि १४ जनाको उमेदवारी परेको छ भने महिला सदस्य तीन पदका लागि चारजना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यससँगै इप्पानको आगामी कार्यसमितिका लागि उपमहासचिव एक र सचिव पाँच गरी ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा खुला र महिला सदस्य पदका लागि भने भोलि जेठ २९ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij