२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फ्लाई दुबईले पोखरा–दुबई हवाई उडानका लागि पायो अनुमति

फ्लाई दुबईले पोखरा–दुबई हवाई उडानका लागि पायो अनुमति

835
Shares

काठमाडौं – फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा रुटमा दैनिक सीधा उडान सेवा सञ्चालन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त रुटमा नियमित उडानका लागि अनुमति प्रदान गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुने भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका स्वीकृत भइसकेको छ र सेप्टेम्बर २३ देखि दैनिक उडान सुरु हुनेछ।

फ्लाई दुबईको प्राविधिक टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको उच्चस्तरीय निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले उडान अनुमति प्राप्त गरेको हो।

Dhanraj Acharya ले फ्लाई दुबईको नियमित उडान स्वीकृतिसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।

उनका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिकालगायत ३०० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा पोखराबाट सहज पहुँच विस्तार हुनेछ। यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

हालसम्म पोखराबाट केही छिमेकी मुलुकमा चार्टर उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि मुख्य रूपमा आन्तरिक उडानमै सीमित रहँदै आएको छ।

यसअघि हिमालय एयरलाइन्स ले सन् २०२५ मार्चमा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको थियो। तर उक्त सेवा लामो समय सञ्चालन हुन नसकी गत मार्च २३ देखि बन्द भएको थियो।

करिब पाँच दशकअघिदेखिको योजनाअनुसार निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्थामा फ्लाई दुबईको प्रवेशलाई पर्यटन तथा हवाई क्षेत्रका सरोकारवालाले सकारात्मक रूपमा लिएका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँ बराबरको थप लगानी भित्रिएको छ। उनीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तारका लागि आवश्यक नीतिगत सहजीकरण, भारत र चीनका प्रमुख सहरमा उडान अनुमति तथा राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय गन्तव्य सञ्चालनमा प्रोत्साहन गर्न सरकारसँग माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij