काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म नेपालको अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह तथा राजस्व परिचालनमा उल्लेख्य सुधार देखिएको छ भने मुद्रास्फीति पनि नियन्त्रणमै रहेको छ।
प्रतिवेदनअनुसार वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत कायम भएको छ भने चालु आर्थिक वर्षको दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ। यसले मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा रहेको संकेत गरेको छ।
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च स्तरमा पुगेको छ। वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २४ अर्ब १९ करोड बराबर रहेको राष्ट्र बैंकले जनाएको छ। हालको सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख गरिएको छ।

बाह्य क्षेत्रका अन्य सूचक पनि उल्लेखनीय रूपमा सुधारिएका छन्। चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा पुगेको छ। विप्रेषण आप्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको दश महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४१.२ प्रतिशत र अमेरिकी डलरमा ३३ प्रतिशतले बढेको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ।
वैदेशिक व्यापारतर्फ पनि सुधारको संकेत देखिएको छ। समीक्षा अवधिमा निर्यात १४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.८ प्रतिशतले बढेको छ।
सरकारी वित्ततर्फ हेर्दा वैशाख मसान्तसम्म नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने राजस्व संकलन ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ रहेको
मौद्रिक सूचकहरू पनि सकारात्मक रहेका छन्। विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले विस्तार भएको छ भने वार्षिक विन्दुगत आधारमा यसको वृद्धि १५.२ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ९.४ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ। वार्षिक आधारमा निक्षेपको वृद्धि १६ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.७ प्रतिशत रहेको छ।
बैंकिङ प्रणालीमा तरलता सहज रहँदा ब्याजदर न्यून स्तरमै कायम छ। बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij