२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मकालु वाईन इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने

मकालु वाईन इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने

730
Shares

काठमाडौं – नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका थिए ।

वि.सं. २०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले विगत ३१ वर्षदेखि समुन्द्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक हिंवा वाईन उत्पादन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाईन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ ।

कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेञ्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने तयारी समेत गरिरहेको जनाएको छ ।

आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाईन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्काशन तथा बिक्री व्यवस्थापन, शेयर रजिष्ट्रेशन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij